सर्लाहीको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको रु. ७ लाख ५७ हजार नेपाली नगदसहित एक जनालाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु अधिकारीको कमाण्डमा खटिएको चेकपोस्ट ड्युटी टोलीले शनिबार बिहान करिब १०:०० बजे विशेष सूचनाका आधारमा मलंगवा नगरपालिका-८ स्थित सीमा क्षेत्रमा सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको BR30AB 5848 नम्बरको प्लाटिना मोटरसाइकलमा सवार सर्लाही जिल्लाको कोडैना गाउँपालिका-४, मोतिपुर निवासी अन्दाजी ३८ वर्षीय मुकेश कुमार यादवलाई शंकाको आधारमा खानतलासी तथा चेकजाँच गर्दा स्रोत पुष्टि हुन नसकेको नेपाली नगद रु. ७ लाख ५७ हजार फेला परेको हाे ।
बरामद रकममध्ये रु. १,००० दरका ५७५ थान, रु. ५०० दरका ३४४ थान, रु. १०० दरका ४४ थान तथा रु. ५० दरका ११२ थान नोट रहेका छन्। उक्त रकमसँगै प्रयोग गरिएको मोटरसाइकल, चालकको नाममा रहेको सवारी चालक अनुमतिपत्र, मोटरसाइकलको दर्ता प्रमाणपत्र (आर.सी.) तथा एक थान रेड्मी मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बलले, नेपालले सम्बन्धित व्यक्ति, बरामद गरेका नगद रुपैया तथा नियन्त्रणमा लिइएका सामानहरुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
नेपाल-भारत खुला सीमामा अवैध रूपमा नगद तथा अन्य वित्तीय कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले नियमित निगरानी, सूचना संकलन तथा लक्षित चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको छ। पछिल्लो बरामदिले सीमावर्ती क्षेत्रमा हुने अवैध वित्तीय गतिविधिमाथि सुरक्षा निकायको सक्रियता र निगरानीलाई थप सुदृढ बनाएको संकेत गरेको छ।खुला सिमानाको फाइदा उठाउँदै हुनसक्ने आर्थिक अपराध र हुण्डी कारोबारलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा सुरक्षा जाँचलाई थप कडाइ गरिएको छ।
