वीरगञ्ज, मधेस जागरण अभियानका संयोजक कृष्ण मोहन सहनी ले रास्वपा सांसद रहबर अन्सारीले दिएको भनिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
जारी गरिएको प्रतिक्रियामा सहनीले उक्त अभिव्यक्तिले समग्र हिन्दू समुदायको धार्मिक आस्था, परम्परा र सांस्कृतिक भावनामाथि चोट पुगेको दाबी गर्दै यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावको भावना विपरीत रहेको बताएका छन्।
सहनीले भने, "समग्र हिन्दूहरूको आस्था र परम्परालाई बदनियतवश अपमानजनक शब्द प्रयोग गर्नु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र सहिष्णु समाज भएको देश हो। कुनै पनि धर्म वा समुदायको आस्थामाथि प्रहार गर्ने अभिव्यक्तिले सामाजिक सद्भाव बिगार्न सक्छ।"
उनले सम्बन्धित सांसदले आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा आत्मसमीक्षा गर्दै तत्काल माफी माग्नुपर्ने माग गरेका छन्। साथै, भविष्यमा कुनै पनि धर्म, संस्कृति वा समुदायको भावनामाथि चोट पुग्ने अभिव्यक्ति नदिन सबै जनप्रतिनिधि तथा सार्वजनिक व्यक्तित्वलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
