बारा। सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रभावकारी भूमिका निर्वाह गर्न मातहतका कमाण्डर तथा सशस्त्र प्रहरी कर्मचारीहरूलाई कडा निर्देशन दिनुभएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको निरीक्षण भ्रमणका क्रममा बाहिनीपति भट्टले गणको समग्र सुरक्षा अवस्था, सीमा क्षेत्रमा भइरहेको परिचालन, सीमा अपराध नियन्त्रण तथा चोरी–तस्करी नियन्त्रणका लागि भइरहेका गतिविधिबारे जानकारी लिनुभएको थियो।
निरीक्षणका क्रममा उहाँले खुला सीमाको फाइदा उठाउँदै हुने चोरी–पैठारी, तस्करी, अवैध ओसारपसार, लागुऔषध, अवैध हातहतियार तथा अन्य प्रतिबन्धित वस्तुको कारोबार नियन्त्रणमा उच्च सतर्कता र सक्रियताका साथ परिचालित हुन निर्देशन दिनुभयो। सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणमा कुनै पनि प्रकारको कमजोरी वा लापरबाही स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो।
बाहिनीपति भट्टले सीमा सुरक्षालाई संगठनको महत्वपूर्ण जिम्मेवारीका रूपमा उल्लेख गर्दै आफ्नो जिम्मेवारी क्षेत्रमा देखापर्न सक्ने सुरक्षा चुनौती तथा सीमा अपराधका प्रवृत्तिको निरन्तर विश्लेषण गर्न कमाण्डरहरूलाई निर्देशन दिनुभयो। साथै, मुख्य नाकाका अतिरिक्त संवेदनशील क्षेत्रमा आकस्मिक गस्ती, चेकजाँच र निगरानीलाई थप प्रभावकारी बनाउन जोड दिनुभयो।
उहाँले सीमा अपराध नियन्त्रणका लागि सूचना संकलन, विश्लेषण तथा परिचालनलाई प्राथमिकता दिनुपर्ने बताउँदै स्थानीय सूचना संयन्त्रलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो। तस्करीका सम्भावित मार्ग, अपराधमा संलग्न व्यक्ति तथा अवैध गतिविधिका केन्द्रमाथि निरन्तर निगरानी राख्दै प्राप्त सूचनाका आधारमा परिणाममुखी कारबाही गर्नुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी, सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, भन्सार कार्यालय, स्थानीय प्रशासन तथा भारतीय सीमा सुरक्षा बल (SSB) लगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय, सहकार्य र सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो।
बाहिनीपति भट्टले सशस्त्र प्रहरी कर्मचारीहरूलाई संगठनको नीति, निर्देशन तथा प्रचलित कानूनको पूर्ण पालना गर्दै निष्पक्ष, अनुशासित, इमानदार र व्यावसायिक रूपमा कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। गैरकानुनी गतिविधिमा संलग्नता, कर्तव्यमा लापरबाही वा गैरव्यावसायिक व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो।
उहाँले सीमा सुरक्षाको प्रभावकारिता राष्ट्रको सुरक्षा, आर्थिक हित, राजस्व संरक्षण तथा नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीलाई राष्ट्रसेवा र संगठनको प्रतिष्ठासँग जोडेर उच्च मनोबलका साथ निर्वाह गर्नुपर्ने बताउनुभयो।
निरीक्षण भ्रमणका क्रममा नं. १२ गण हे.क्वा. बाराका गणपति तथा मातहतका कमाण्डरहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको समग्र सुरक्षा अवस्था, सीमा सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, चोरी–तस्करी नियन्त्रणमा भइरहेको परिचालन तथा आगामी कार्ययोजनाबारे बाहिनीपति भट्टसमक्ष जानकारी गराएका थिए।
बाहिनीपति भट्टको निर्देशनले सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई थप सतर्क, सक्रिय, जिम्मेवार तथा परिणाममुखी रूपमा परिचालित हुन उत्प्रेरणा मिलेको बताइएको थियो ।



