कार्तिक २५ वीरगञ्ज,
मधेस प्रदेशमा प्रदेश प्रमुखको असंवैधानिक कदम र त्यसकै आधारमा गैर–संवैधानिक रूपमा गरिएको मुख्यमन्त्री नियुक्तिको विरोधमा जनमत पार्टी पर्साले वीरगञ्जको घन्टाघरमा विरोध प्रदर्शन गरेको छ।
विरोधसभामा बोल्दै पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले संघीयताको मूल आधारभूत भावना र मधेसको अधिकारमाथि प्रहार सह्य नहुने चेतावनी दिए।
उनले भने, “संविधानले दिएको अधिकारलाई कुण्ठित गरेर प्रदेशलाई कमजोर बनाउने प्रयास भइरहेको छ। मधेसको आवाजलाई फेरि दबाउने खेल सुरु भएको छ। यो खेल अब सफल हुन दिइने छैन।”
उनले थपे, “गैर–संवैधानिक रूपमा सरकार बनाउने निर्णय तुरुन्तै सच्याउनुपर्छ। यदि यो कदम फिर्ता भएन भने जनमत पार्टी सडकमा झनै कडा संघर्षमा उत्रिन्छ। मधेसको अधिकार र संघीयताको रक्षा गर्न हामी कुनै पनि हालतमा पछि हट्दैनौं।”
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदेश प्रमुख र नयाँ नियुक्ति प्रक्रियाको विरुद्ध तीव्र असन्तुष्टि व्यक्त गरेका थिए। केही समय प्रहरी र प्रदर्शनकारीबीच तनाब र धक्का–मुक्का समेत भएको थियो।
जिल्ला अध्यक्ष सरार्फको नेतृत्वमा सम्पन्न विराेध कार्यक्रममा केन्द्रीय सदस्य श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा, प्रदेश सदस्य राजनारायण मिश्र, क्षेत्रीय संयोजक डा. मनोज सरार्फ, नेताहरू भुपेन्द्र साह, अमरनाथ राठौर, रुक्साना खातुन, युवा नेताहरू मनोज साह, धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, संजय सिंह, रोशन पाण्डे लगायतकाे उपस्थिति रहेको थियो।




