भरत सरार्फ
पर्सा १० जेठ / बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालयले पारदर्शिता र निष्पक्षताको आधारमा सेवा प्रवाह गरिरहेको दाबी कार्यालय प्रमुख अबिन्दर दासले गरेका छन्। सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी लिखित तथा ट्रायल परीक्षा हरेक दिन सञ्चालन गर्दै आएको जानकारी प्रमुख दासले दिएका छन्।
उनका अनुसार हाल लाइसेन्सको माग केही घटेको छ, जसका कारण करिब दुई हप्तादेखि साप्ताहिक रुपमा मात्र परीक्षा सञ्चालन भइरहेको छ। तथापि, सेवाग्राहीलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले परीक्षा निरन्तरता दिइएको दासले स्पष्ट पारे।
चालु आर्थिक वर्षको बैशाख महिनाको पहिलो सातासम्ममा कार्यालयमार्फत ७ करोड ३६ लाख ५७ हजार ६७५ रुपैयाँ राजस्व संकलन गरिएको प्रमुख दासले जानकारी दिएका छन्।
उनले तीन महिनाअघि मात्र कार्यालयको जिम्मेवारी सम्हालेको भए पनि आफू कार्यरत अवधिमा ३ करोड ५५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए।
उनको अनुमान अनुसार जेठको पहिलो सातासम्ममा मात्रै पाँच करोड रुपैयाँ हाराहारीको राजस्व संकलन हुने अपेक्षा गरिएको छ।
दासले कार्यालयले पारदर्शी ढंगमा सेवा दिएकाले पत्रकार महासंघ बारा शाखामा आवद्ध १२८ जना पत्रकारलगायत जिल्लाका अन्य सञ्चारकर्मीले सकारात्मक सहयोग गर्दै आएको बताए।
यसैबीच, पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले कलैयामा यातायात कार्यालय स्थापना भएपछि बाराबासीलाई सेवा लिन सहज भएको बताएका छन्।
उनले भने, “दासले निष्पक्ष र पारदर्शी रुपमा कार्यालय सञ्चालन गरिरहनु भएको छ, त्यसैले हामी पत्रकारहरूले निस्वार्थ सहयोग गरेका छौँ।”
यातायात कार्यालय कलैयाबारामा पारदर्शी सेवा प्रवाह, प्रमुख दासको दाबी — राजस्व संकलनमा उल्लेखनीय प्रगति
byभरत सर्राफ
•
•
2 min read
0
