पञ्चवर्षीय गढीमाई मेलामा पशुबलि विरोधीलाई कारबाही गर्न माग

वीरगंज, १ असोज । महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादव र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको टोलीले मंगलवार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाउँदै पञ्चवर्षीय गढीमाई मेलामा पशुबलिको विरोधीलाई कारबाहीको माग गरेको छ ।

यसवर्षको मंसिरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलालाई बिथोल्ने खालका गतिविधीमा लागेकाहरूलाई कारबाहीको माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।

पशुबलीका लागि विश्वमै प्रसिद्ध रहेको पञ्चवर्षीय गढीमाई मेला यसवर्ष मंसिरमा लाग्दैछ । मेलाको तयारी शुरू भएसंगै केहि संघसंस्थाहरूले गढीमाई मेलामा पशु बली रोक्न माग गर्दै अहिलेदेखि नै सदरमुकाम कलैया लगायतका स्थानमा गतिविधी बढाएका छन् ।

यस्ता गतिविधीले गढीमाई मेलालाई प्रभावित पार्न सक्ने भन्दै त्यसलाई रोक्न र त्यस्ता गतिविधीमा लागेकाहरूलाई कानूनी कारबाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ज्ञापनपत्र बुझाइएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र्र प्रसाद यादवले जानकारी दिए ।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ,'पञ्चवर्षीय गढीमाई मेलालालाई निरूत्साहित गर्न बली लगायतका मुद्धाको बहाना बनाएर सनातन धर्मलाई तल देखाउन पूर्वमन्त्री कलावती पासवान तथा केहि संघसंस्थाहरूले गरिब निमुखाहरूलाई रकम बाँडेर हुलहुज्जत गराउने जस्ता कृयाकलाप तथा सामाजिक सञ्जालमा भ्रम छरेर मेलालाई नै बिथोल्ने प्रयासहरू गरिरहेका छन् । तसर्थ त्यस्ता गतिविधीलाई तत्काल रोकेर त्यसमा संलग्न पूर्वमन्त्री पासवानसहितकाहरूलाई कानूनी दायरामा ल्याएर कारबाई गर्न माग गर्दर्छाै ।'

प्रमुख जिल्ला अधिकारी घिमिरेले यसवारेमा स्थानीय प्रशासनकोपनि यसअघि नै ध्यानाकर्षण भइसकेको भन्दै मेलालाई प्रभावित पार्ने खालका कुनैपनि गतिविधी हुन दिने बताए । उनले मेलालाई प्रभावित पार्ने गतिविधीमा लागेकाहरूलाई जिल्ला प्रशासन कार्यालयमा झिकाएर बयान लिने र दोषी पाइएमा कानून अनुसार कारबाही गर्ने प्रतिबद्धतापनि जनाए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव,उपमेयर तारादेवी कानु, गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सअध्यक्ष रामचन्द्र साह, गढीमाई नगरपालिकाका वडाध्यक्षहरू लगायतको सहभागीता थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?