न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

काठमाडौं  २० मंसिर  । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित 'ओमपाल गोल्ड शप' का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो । केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीले सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।

यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ । समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?