उपराष्ट्रपति उम्मेदवार रामसहाय विरुद्ध एमालेले दियाे उजुरी

काठमाडौं ,२७फागुन:उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ ।

उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य (बोहरा)को प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् ।
राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ ।

यद्यपि जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । ९ दलीय गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गरेर जसपालाई उपराष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेका थिए ।

एमालेबाट भने उपराष्ट्रपतिमा शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उपराष्ट्रपति निर्वाचनको तयारीका सन्दर्भमा आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।साभार:कान्तिपुर

The post उपराष्ट्रपति उम्मेदवार रामसहाय विरुद्ध एमालेले दियाे उजुरी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?