बीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नगद सहित सात जना पक्राउ

 वीरगञ्ज । पर्सा प्रहरीले अवैध वित्तीय कारोबार (हुण्डी) को आशङ्कामा स्रोत नखुलेको नेपाली नगद ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ । सोमबार साँझ वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।


दुईवटा मोटरसाइकलमा सवार भई आइरहेका उनीहरूलाई प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रोकेर खानतलासी गर्दा सो परिमाणको नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए ।


पक्राउ पर्नेहरूमा भारतको सीतामढी घर भएका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।


प्रहरीका अनुसार सुरज कर्णको साथबाट १ लाख, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ । बरामद गरिएका रकममा पाँच सय र एक हजार दरका नोटहरू रहेका छन् ।


आरोपीहरूले रकम ओसारपसारका लागि प्रयोग गरेका प्रदेश २-०३-००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना ५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनीहरूमाथि सम्पत्ति शुद्धीकरण वा हुण्डी कारोबारअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?