
काठमाडौं,२८माघ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरूवात भएको बताएका छन् । उनले राष्ट्रपति निर्वाचनपछि मुलुकमा नयाँ राजनीतिक परिवेश बन्ने बताए ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा आफूहरूको कमजोर अवस्था नरहेको दाबी गरे ।
‘भर्खरै सुदूरपश्चिमको सरकार ढल्यो । अब नयाँ सरकार बनेको छ । त्यो सरकारमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी छन्,’ उनले भने, ‘हिजो यो पार्टीको केही अर्थ छैन भन्नेहरूलाई जवाफ मिलेको छ । नेकपा एमालेलाई ठूलो धक्का परेको छ । यस्तो धक्का सुदूरपश्चिमबाट सुरू भएको छ, यो त त्यसको पहिलो सुरूवात भएको मात्रै हो ।’
उनले निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि निराश नहुन र हौसलालाई बुलन्द राख्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष नेपालले राष्ट्रपतिको निर्वाचनपछि देशमा नयाँ राजनीतिक परिवेश सिर्जना हुने समेत दाबी गरे । ‘देश नयाँ परिवेशमा पुग्दैछ । अहिले सबैतिर चर्चा छ, राष्ट्रपति पदको । म राष्ट्रपति हुने भएँ भनेर मान्छेहरू दंग परेका छन्, उनीहरूलाई दंग पारिएको छ,’ उनले भने, ‘सबैलाई राष्ट्रपति पद दिइएको छ । को–को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । यो मैले संकेत मात्रै गरेको हो ।’ साभार : कान्तिपुर
The post सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरु भएको छ : माधव नेपाल appeared first on Madhes Khabar.