औषधि बोकेको ट्रकमा मदिरा, राजश्वले गर्‍यो कारबाही

२१ पुस, वीरगञ्ज । आन्तरिक राजश्व कार्यालय वीरगञ्जले औषधी बोकेको ट्रकमा अवैध घरेलु रक्सी बोक्ने ट्रक चालकलाई जरिवाना गरेको छ ।

कार्यालयले ट्रक चालक वीरगञ्ज–३० बस्ने सदाम हुसेनलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । अवैध रक्सीको ३९ हजार विगो र रक्सी ओसार्न प्रयोग भएको ट्रकको २५ हजार जरिवाना लिएको छ ।

प्रहरीले विरगन्ज–२ श्रीराम हल पछाडिको खाली चौरबाट बिहीबार बिहान अवैध घरेलु रक्सी सहितको कन्टेनर नियन्त्रणमा लिएको थियो । ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरमा त्रिभुवन विमानस्थलबाट पैठारी प्रज्ञापनपत्र अनुसारका १ करोड १४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ बराबरको औषधि लोड थियो ।

३९ वटा पोकामा प्रतिपोका १० लिटरका दरले ट्रकमा ३ सय ९० लिटर अवैध घरेलु रक्सी समेत राखिएको थियो ।

प्रहरीले अवैध घरेलु रक्सी कन्टेनरमा राखेर ल्याउने ट्रक चालक सदामलाई पनि पक्राउ गरेर आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा बुझाएको थियो । बरामद गरिएको औषधि सहितको ट्रक र रक्सीको मूल्य १ करोड ३४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ गरिएको थियो । प्रमुख कर अधिकृत कपिल सुवेदीले मदिरा नष्ट गरेर चालकलाई जरिवाना गरेको जानकारी दिए ।

‘औषधि ल्याउने प्रज्ञापनपत्र थियो, तर बीच बाटोमा अवैध घरेलु मदिरा राखेर ल्याएका रहेछन्’, उनले भने, ‘कानुन बमोजिम जरिवाना गरेर छोडेका छौं ।’


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?