जसपा अहिले त गठबन्धन मै छ : उपेन्द्र यादव

मधेसखबर
वीरगन्ज,१७ असाेज : सत्तागठबन्धनमा रहेकाे जनता समाजवादी पार्टी (जसपा) ले आगामी निर्वाचनमा गठबन्धन बाहेकका अन्य दलसंग चुनावी तालमेलका लागि ढाेका खुल्ला गरेकाे निर्णय गरेकाे छ ।

शनिबार बसेकाे कार्यकारिणी समितिकाे बैठकले गठबन्धनमा एकदमै थाेरै सिट दिन खाेजिएकाले असन्तुष्टि जनाउदै गठबन्धन बाहेकका अन्य दलसंग पनि चुनावी तालमेल गर्न सकिने वा एक्लै चुनाव लड्न सकिने पनि निर्णय गरेकाे छ । यसै सन्दर्भमा जसपा अध्यक्ष उपेन्द्र यादवसंग नयाँपत्रिकका सन्चारकर्मीले गरेकाे कुराकानी :

 

जसपा गठबन्धनबाट बाहिरिएर अरूसँग तालमेलको बाटो खुला गरेको हो ?

होइन, चुनावी तालमेलका लागि गठबन्धन सँगसँगै अब अरूसँग पनि कुरा गर्ने भनेको मात्रै हो । अहिले त गठबन्धनमै छौँ।

सिट बाँडफाँडसम्बन्धी छलफल सन्तोषजनक भएन भन्नुभएको छ, के असन्तुष्टि हो ?

सन्तोषजनक भए त किन बोल्नुपथ्र्यो र ? सिट बाँडफाँडकै विषयमा हाम्रो असन्तुष्टि हो । हामीले दाबीभन्दा निकै कम सिट पाउने भयौँ ।

जसपालाई १५ सिट दिने भनेको हो ?

हामीलाई न्यूनतम संख्यामा पनि सिट उपलब्ध भएन । टुंगिने अवस्था पनि देखिएन । थोरै सिट नै हो असन्तुष्टिको विषय ।

तपाईंहरूको दाबी कति सिटमा हो ?

त्यो वार्ताको विषय हो । तर, त्यस्तो वार्ता अहिलेसम्म भएको छैन ।

एमाले र मधेसी दलसँग पनि तयार हो ?

त्यो पनि सम्भव छ । सबै पार्टीसँग वार्ता गर्न खुला भएका छौँ ।

लोसपासँग मिल्ने सम्भावना कति छ ?

असम्भव छैन । तर, हामीले सम्पूर्ण रूपमा गठबन्धनको विकल्प खोजेको छैनौँ ।

उसो भए घुर्की लगाउनु भएको हो ?

घुर्की लगाएको होइन । त्यस विषयमा गठबन्धनमा छलफल होला नि । हाम्रो पार्टीले जे समीक्षा गर्‍यो त्यो राखेको हो । त्यहीअनुसार निर्णय भएको हो ।

साभार: नयाँपत्रिका

The post जसपा अहिले त गठबन्धन मै छ : उपेन्द्र यादव appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?