जीतपुरसिमरामा परीक्षा पुस्तिका जाँच नै नगरी विद्यार्थीलाई अङ्क 

बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका दुई वटा सामुदायिक विद्यालयहरूले परीक्षा उत्तर पुस्तिका जाँच नै नगरी अङ्क दिइएको पाइएको छ ।  

उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको नेतृत्वमा गरिएको विद्यालयहरूको छड्के  अनुगमनमा दुई वटा विद्यालयहरूले परीक्षा उत्तर पुस्तिका जाँच नै नगरी अङ्क दिएको उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत हरिष भट्टले जानकारी दिनुभयो  । 

परीक्षा पुस्तिका जाँच नगर्ने विद्यालयहरूमा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र वडा नं.५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलिया रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । छातापिपरा विद्यालयमा उत्तर पुस्तिका जाँच नै नगरी शिक्षकहरूले विभिन्न विषयको उत्तर पुस्तिका दराजमा राखेको भेटिएको थियो । 

छातापिपरा विद्यालयले कोरोना भाइरसको कारण देखाउँदै उत्तर पुस्तिका चेकजाँच नगरेको बताएको छ भने नमुना माध्यमिक विद्यालय, बकुलियाले परीक्षा उत्तर पुस्तिका हराएको जनाएको छ । नमुना माध्यमिक विद्यालय, बकुलियाको प्रधानाध्यापक किशोरी प्रसाद यादवले उत्तर पुस्तिका शिक्षकहरूले चेकजाँच गरेको तर गल्तीवश कवाडीसँग बेचिन गएको भन्दै पन्छिन खोज्नुभयो । 

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा महाशाखाले  उत्तर पुस्तिका चेक नगर्ने ती दुई  विद्यालयका प्रधानाध्यापक सहित शिक्षकहरूलाई लिखित स्पष्टीकरण सोधेको अधिकृत भट्टले बताउनुभयो  ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?