सात वटै प्रदेशमा चिडियाखाना बन्छ : वनमन्त्री यादव

बारा । वन तथा वातावरण मन्त्री प्रदीप यादवले देशको सात वटा प्रदेशमा एउटा/एउटा चिडियाखाना बनाउने योजना ल्याउन लागेको बताउनुभएको छ । 

बारासँग जोडिएको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । देशको आर्थिक तथा सांस्कृतिक विकासको लागि पर्यटनको विकास अति आवश्यक देखिएकाले त्यसको सुरुवातको लागि प्रत्येक प्रदेशमा चिडियाखाना बनाउन लागेको जानकारी दिनुभयो ।

आर्थिक नगरी वीरगञ्जमा पर्यटकका लागि आकर्षित गर्न सक्ने गन्तव्यको अभाव महसुस गर्दै देशकै नमुना चिडियाखानाको रुपमा स्थापना गर्ने योजनाले मूर्त रूप पाएकोमा खुसी व्यक्त गर्नुभयो । अब बारा र पर्सामा आउने पर्यटकलाई अझै धेरै दिनसम्म राख्नका लागि प्राणी उद्यान कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । 

सोही अवसरमा मन्त्री यादवले भाठादेखि ठोरीसम्म केबलकार जडान गर्ने कामको सर्वेक्षण पनि अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । वीरगञ्ज आउने पर्यटकलाई रामवनको चिडियाखाना घुमाउँदै केबलकारमार्फत भाठाधाम देखि ठोरीसम्म पुर्‍याएर पर्सा राष्ट्रिय निकुञ्ज घुमाउने गरी बसाल्ने तयारी रहेको मन्त्री यादवले बताउनुभयो ।

सरकार र निजी साझेदारीको सहकार्यमा केबुलकार बनेपछि त्यसले पनि पर्यटकलाई आकर्षित गर्ने र पर्यटन व्यवसायको विकास हुने मन्त्री यादवको दाबी गर्नुभयो । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?