वीरगंज, २८ वैशाख । सवारी ज्यान मुद्दा लागेपछि विगत दुई दशकभन्दा बढी समयदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले २१ वर्षदेखि लुकिछिपी बस्दै आएका पर्सागढी नगरपालिका वडा नं. ५ पञ्चरूखी निवासी ४७ वर्षीय दिनेश प्रसाद यादवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार वि.सं. २०६२ साल जेठ १५ गते अपराह्न ३ः०० बजेको समयमा साविक वीरगंज उप–महानगरपालिका वडा नं. १४ स्थित चिनीमिल आवास क्षेत्र अगाडिको सडकखण्डमा उक्त दुर्घटना भएको थियो। यादवले चलाएको ना ३ प ६३६२ नम्बरको मोटरसाइकलले पैदल यात्री बारा जिल्लाको साविक ईनर्वा सिरा (हाल जितपुर सिमरा उप–महानगरपालिका वडा नं. २०) निवासी ६५ वर्षीय कालिका सिंह राजपुतलाई ठक्कर दिएको थियो।
ठक्कर लगत्तै गम्भीर घाइते भएका राजपुतलाई उपचारका लागि तत्काल बि.एण्ड.बि. अस्पताल ललितपुर पठाइएको थियो। उपचारकै क्रममा सोही वर्षको जेठ २६ गते चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटना पश्चात मोटरसाइकल छाडी फरार भएका यादव हालसम्म प्रहरीको सूचीमा फरार रहँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई लुकिछिपी बसेको अवस्थामा आफ्नै घर ठेगानाबाट आज वैशाख २८ गते बिहान ८ः०० बजे नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय ल्याई सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिनुभयो।




















