सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्याल वैशाख १८ गते सेवा अवधि पूरा गरी अवकाश हुँदै गर्दा संगठनभित्र बढुवा प्रक्रिया अवरुद्ध बनेको छ।
डीआईजी पदका लागि रिक्त स्थान र नयाँ दरबन्दी स्वीकृत भइसके पनि पुस महिनादेखि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। गृह मन्त्रालय स्रोतका अनुसार प्रस्ताव तयार भए पनि गृहमन्त्री सुधन गुरुङले यसतर्फ निर्णय लिन चासो नदेखाएको बताइएको छ।
स्रोतका अनुसार मन्त्रीको प्राथमिकता आगामी आईजी नियुक्तिमा केन्द्रित भएकाले डीआईजी बढुवा प्रक्रिया पछाडि परेको हो।
पुस २३ गते कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ तथा फागुन १ गते कुमार न्यौपाने अवकाशमा गएपछि डीआईजी पदहरू खाली भएका छन्। यसअघि मन्त्रिपरिषद्ले मंसिर २ गते तीन नयाँ दरबन्दी थप्ने निर्णय गरेको थियो।
पद रिक्त हुँदा सशस्त्रको दैनिक कामकाजमा असर परेको छ भने ती जिम्मेवारीहरू तल्लो तहका अधिकृतले सम्हाल्दै आएका छन्।
आईजी अर्यालको अवकाशसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ। सो पदका लागि एआईजी नारायणदत्त पौडेल र बंशीराज दाहाल प्रमुख प्रतिस्पर्धी मानिएका छन्।
दुवै अधिकारी एकै ब्याचका भए पनि वरिष्ठताका आधारमा पौडेल अगाडि छन्। हालसम्म सशस्त्र प्रहरी बलमा वरिष्ठता मिचेर आईजी नियुक्ति गरिएको उदाहरण छैन।
यद्यपि, गृह मन्त्रालयको ध्यान आईजी चयनमा केन्द्रित हुँदा स्थापित परम्परा कायम रहन्छ कि परिवर्तन हुन्छ भन्नेबारे संगठनभित्र चासो र आशंका बढेको छ।
