पर्सा १४ माघ / बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–१ रहरियाडीमा आज (बुधबार) बिहान एकै परिवारका दुई जनाको निर्मम हत्या भएको छ। अज्ञात समूहले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो भने परिवारका अन्य दुई सदस्य गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डल रहेका छन्। अज्ञात समूहले आज बिहान करिब ३ बजेको समयमा उनीहरूमाथि धारिलो हतियार प्रयोग गरी टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनामा मृतक रामेश्वरका ५२ वर्षीय बुवा जगरूप मण्डल र २२ वर्षीया बहिनी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले मृतक रामेश्वरकी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई नियन्त्रणमा लिएको छ। बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार प्रारम्भिक अनुसन्धानका लागि मनितालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
“घरका अन्य सदस्यहरू घाइते अवस्थामा भेटिँदा बुहारी भने सुरक्षित देखिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,” प्रहरी स्रोतले जनाएको छ।
एकै परिवारका सदस्यहरूको विभत्स हत्या भएपछि रहरियाडी क्षेत्र शोक र त्रासमा डुबेको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार प्राविधिक टोली र तालिमप्राप्त कुकुरको सहयोगमा घटनाको गहिरो अनुसन्धान भइरहेको छ। हत्या कसले र कुन उद्देश्यले गरेको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ,” एसपी कुँवरले भने, “विभिन्न कोणबाट प्रमाण सङ्कलन भइरहेको छ, दोषी छिट्टै कानुनी दायरामा आउनेछन्। प्रहरीले घटनास्थल सिल गरी सुरक्षा सतर्कता बढाएको छ भने घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जनाएको छ।
