पर्सा १४ मंसिर / घटनाहरु हुने कुनै नौलोकुरा होइन , तर घटना भइसके पछि अपराधीलाई पक्राउ नगर्न त्यो प्रहरी को लागि ठुलो चुनौती र लाज मर्दो कुरो हो । तर बारा प्रहरी ले सिंह हत्यारालाई १६ घन्टा पक्राउ गरेर ठुलो सफलता हासिल गरेकाछन । बारा प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का प्रबन्धक (म्यानेजर) राम किशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
गत बिहीबार फ्याक्ट्री नजिकै रातिको समयमा सर्लाहीको धनकौल गाउँपालिका–२ का सिंहको धारिलो छुरा र इँटाले टाउको थिचेर बीभत्स हत्या भएको थियो । फ्याक्ट्रीको म्यानेजरको जिम्मेवारी सम्हाल्दै आएका उनको शव भोलिपल्ट शुक्रवार बिहान बरामद भएको थियो ।
हत्यामा संलग्न दुई जनालाई घटनाको १६ घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फ्याक्ट्रीमा चालकको रूपमा काम गर्दै आएका पर्सा वीरगञ्ज महानगरपालिका–२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र उनका साथी सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेका छन् ।
प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण पुरानो रिसिइवी र कामबाट निकालिएको रिस रहेको खुलेको छ । फ्याक्ट्रीमा चालकको रूपमा काम गर्दै आएका मुख्य अभियुक्त रामले गत वर्ष गढीमाई मेलाको समयमा लापरबाही गर्दा गाडीको कलच प्लेट जलेको थियो । सोही विषयमा मृतक म्यानेजर सिंहसँग उनको झगडा परेको र रामले केही समय काम छोडेका थिए ।
यद्यपि, पुनः गत साउन १ गतेदेखि कात्तिक १० गतेसम्म काम गरेका रामले कम्पनीले तोकेको ११० रुपैयाँ मूल्यको पानी आफैँ ११५–१२० रुपैयाँमा बेचेर व्यक्तिगत नाफा कमाइरहेको थाहा पाएपछि म्यानेजर सिंहले कात्तिक १० गते उनलाई कामबाट हटाएका थिए । सिंहले कात्तिक ११ गते हिसाब मिलाएर बाँकी रकम पनि फर्छ्यौट गरिदिएका थिए ।
सोही पुरानो र नयाँ रिसको झोँकमा राजनले आफ्ना साथी तुरहासँग मिलेर हत्याको योजना बनाएका थिए । मङ्सिर ११ गते साँझ दुवै जना रक्सी पिएर फ्याक्ट्री पुगी साथमा बोकेको छुरा र इँटाले सिंहमाथि निर्मम आक्रमण गरेका थिए । हत्या पश्चात् उनीहरूले शवलाई फ्याक्ट्रीभन्दा २५ मिटर उत्तरतर्फको खाल्डोमा फालिदिएका थिए
घटनाको भोलिपल्ट बिहान सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाराको टोली घटनास्थल पुगेको थियो । पर्सा प्रहरीसँगको समन्वयमा भारततर्फ भाग्दै गरेको अवस्थामा राजन कुमार रामलाई छिपहरमाई–५ भिस्वाको नाकाबाट र प्रमोद साहलाई वीरगञ्ज–२२ मा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए ।
घटनास्थल तथा अभियुक्तहरूको साथबाट रगत लागेको फलामको छुरा १ थान र रगत लागेकै इँट १ थान बरामद भएको प्रहरी निरीक्षक नेपालले जानकारी दिएँ । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । “घटनाको सूचना आउनासाथ तत्काल परिचालन गरेर १६ घण्टाभित्रै अभियुक्तहरूलाई पक्राउ गर्न सफल भयौँ,” प्रहरी निरीक्षक नेपालले भने ।
