साउथसिटी हिमाल अस्पतालको लापरवाहीले फेरी बिरामीको मृत्यु , पटक पटक विवादमा



पर्सा २३ असोज,  /  वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको साउथसिटी हिमाल अस्पतालमा गर्भवती महिलाको उपचारको क्रममा मृत्यु भएको घटनाले विवाद र आक्रोश निम्त्याएको छ । मृतक हुन् , रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका निवासी रुबी खातुन ।


रुबी बुधबार बिहान ४ बजे प्रसूति पीडासहित अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रिति यादवको टोलीले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ । तर, उपचारकै क्रममा राति उनको अचानक मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासनमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् ।अवस्था गम्भीर हुँदाहुँदै पनि अस्पतालले बेवास्ता गर्‍यो” पिडित परिवारको आरोप छ ।


मृतकका पति महमद मुस्ताकले अस्पतालले उपचारमा गम्भीर लापरवाही गरेको दाबी गरेका छन् । उनले भने “हामीले बारम्बार बिरामीको अवस्था गम्भीर देखिएको भन्दै डाक्टरलाई सर्तक हुन आग्रह गर्‍यो, तर अस्पताल पक्षले ‘सब ठिक छ, चिन्ता नलिनु’ भन्दै हामीलाई ढाडस दिएको थियो । राति भने अकस्मात् मृत्युको खबर दिइयो ।” मुस्ताकका अनुसार अस्पतालले बिरामीको अवस्था बिग्रँदै जाँदा समयमै आवश्यक उपचार र निर्णय गर्न ढिलाइ गर्‍यो 


घटनापछि अस्पताल प्रशासनले भने रुबीको मृत्यु उपचारको क्रममा नै भएको र कुनै लापरवाही नभएको दाबी गरेको छ । अस्पतालका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, “बिरामीलाई अत्यावश्यक मापदण्डअनुसार उपचार गरिएको थियो । घटनाको वास्तविकता बुझ्न आन्तरिक रूपमा छानबिन सुरु गरिएको छ ।”

घटनापछि पीडित परिवार र स्थानीयवासीले अस्पताल परिसरमा आक्रोश प्रकट गरेका छन् । “परिवारले अस्पताललाई लापरवाहीको आरोप लगाएको छ ।

यसअघि पनि वीरगञ्ज र आसपासका अस्पतालमा प्रसूति सेवा र आपतकालीन उपचारको गुणस्तरबारे प्रश्न उठ्दै आएको छ । रुबी खातुनको घटनाले पुनः स्वास्थ्य सेवा क्षेत्रको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।


साउथसिटी हिमाल हस्पिटल यसअघि पनि बढी शुल्क असुलेको आरोपमा विवादमा तानिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालले उपचारका नाममा बिरामीसँग अत्यधिक रकम असुलेको र आर्थिक अनियमितता गरेको भन्ने आरोप लाग्दै आएको छ।


यस विषयमा ‘साउथ सिटी हिमाल हस्पिटलले उपचारको नाममा बिरामीलाई ठग्दै’ शीर्षकमा "न्युज खोजतलाश "  सहितका विभिन्न स्थानीय समाचार माध्यमहरूले विस्तृत समाचार प्रकाशित गरेका थिए।


सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ५ भाडसरकी ३७ बर्षीया राजपती कुमारी दुर्घटनामा परी मंसिर १७ गते अस्पतालमा उपचारका लागि ल्याईएको थियो ।


अस्पतालमा उपचार शुरु गरेपछि हस्पिटल खर्चको नाममा दुईदिनको मात्रै ९५ हजार ६ सय रुपैंया लिएको छ । औषधि खर्चमा मात्रै १३ हजार ८ सय ५४ रुपैंया अस्पतालकै लेटर हेडमा लेखेर दिएको थियो । क्यान्टिनको दुईदिनको खाना र खाजाको मात्रै १० हजार ५ सय रुपैंया लिएको थियो । अस्पतालले भ्याटबिल सहितको रकम दिनुपर्नेमा अस्पतालको लेटर हेडमा मात्रै लेखेर बिरामीको आफन्तलाई दिएको विवाद सार्वजनिक भएको थियो ।


अस्पतालले गरेको ठगीको विरुद्धमा बिरामीको आफन्त जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको थियो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?