वकिलहरूको आक्रमणविरुद्ध जनकपुरमा पत्रकार आन्दोलन, कारबाहीको माग

 पर्सा०१ भदौ /   जनकपुरमा पत्रकारमाथि भएको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै पत्रकारहरूले शनिबारदेखि सडक आन्दोलन थालेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषाको मूल गेटअगाडि बिहानैदेखि भेला भएका पत्रकारहरूले “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर”, “पत्रकारलाई सुरक्षा देऊ” भन्ने नारा लेखिएका प्लेकार्डसहित धर्ना दिएका हुन्।

नेपाल पत्रकार महासंघ, धनुषा शाखाको नेतृत्वमा सुरु भएको विरोध कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो। महासंघले आक्रमणकारी वकिलहरूलाई कानुनी कारबाही गर्न ढिलाइ नगर्न चेतावनीसमेत दिएको छ।

गत साउन २७ गते गुठी संस्थानसँग लिज सम्झौतामा प्राप्त गरेको ४ कठ्ठा जग्गा संरक्षण गर्ने क्रममा विवाद हुँदा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित केही वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। सो क्रममा महासंघका प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

आक्रमणमा संलग्न पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भए पनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको पत्रकार महासंघको आरोप छ।

आक्रमणपछि शनिबार बसेको महासंघ, धनुषा शाखाको आकस्मिक पत्रकार भेलाले प्रहरी प्रशासनमाथि दबाब सिर्जना गर्न आन्दोलनमा जाने निर्णय गरेको थियो। प्रहरी प्रशासन मौन बसिरहे आन्दोलन थप उग्र बनाइने पत्रकारहरूले चेतावनी दिएका छन्।

 



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?