महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण

वीरगंज, ३० असार । वीरगंज महानगरपालिकाले वडा तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण गरेको छ ।

 
सोमवार नगर प्रमुख राजेशमान सिंहले ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन हस्तान्तरण गरेका हुन् ।


स्वास्थ्य सेवा प्रवाहमा प्रविधिको सहजीकरणको लागि पहिलो चरणमा वडा नं. १ देखि १६ सम्म कार्यरत ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राजु साहले बताए । बाँकी वडा नं. १७ देखि ३२ सम्म का स्वयंसेविकालाई एक हप्ताभित्रै वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए।


महानगरका ३२ वटै वडामा हाल १९८ जना स्वयंसेविका कार्यरत रहेको र स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल वितरण गर्नुको उद्देश्य फिल्डमा काम गर्न सजिलो बनाउनु रहेको उनले बताए ।

 
गर्भवती महिलाको नियमित जाँच, बच्चाहरूको खोप लगाउने समयको जानकारी र त्यसपछिको रिपोर्टिङ जस्ता कार्यमा उनीहरूलाई प्रविधिको प्रयोगले सहज बनाउने आशा गरिएको छ ।


संघ र प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाप्रति न्यून सुविधा व्यवस्था गरेकोप्रति असन्तोष व्यक्त गर्दै महानगरले उनीहरूको भत्ता र सुविधामा केही वृद्धि गरेको र आगामी दिनमा पनि यो निरन्तर जारी रहने नगरप्रमुख सिंहले बताए ।
कार्यक्रममा महानगर प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, स्वास्थ्य शाखाका अन्य पदाधिकारी, विभिन्न वडाका अध्यक्षहरू र स्वयंसेविका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?