ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन

नयाँदिल्ली, १ पुस, (रासस/एएनआई):
ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । उहाँको  ७३ बर्षको हुनुहुन्थ्यो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो ।

हुसेनको सान फ्रान्सिस्कोको एक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

एक शिक्षकको रूपमा उहाँको कामले अनगिन्ती संगीतकारहरूमा अमिट छाप छोडेको छ । उहाँले भावी पुस्तालाई अगाडि बढ्न प्रेरित गर्नुभएको छ ।

उहाँ भारतीय सांस्कृतिक विरासत बोकेको महान संगीतकार हुनुहुन्थ्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धीलगायतका नेताले प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा शेयर गरेको पोस्टमा भनिएको छ, "उहाँ एक सच्चा प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । उस्ताद जाकिर हुसेनले भारतीय शास्त्रीय संगीतको दुनियाँमा क्रान्ति ल्याउनुभएको थियो । देशले उहाँ र उहाँको सङ्गीतप्रतिको योगदानलाई सधैँ सम्झिरहनेछ ।"

सङ्गितज्ञ हुसेनले भारत सरकारबाट पद्मश्री (१९८८) र पद्म भूषण (२००२), विश्व सङ्गीतमा योगदानको लागि चार पटक ग्रामी पुरस्कार, भारतीय शास्त्रीय सङ्गीतमा उत्कृष्टतालाई मान्यता दिने सङ्गीत नाटक एकेडेमी पुरस्कार, अमेरिकामा परम्परागत कलाकारहरूको लागि सर्वोच्च पुरस्कार 'नेशनल हेरिटेज फेलोशिप'सहित धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्नुभएको छ ।   
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?