बारा २१ चैत / सशस्त्र प्रहरी बल विओपी गोलागञ्ज बाराले अवैध रुपमा ल्याइएको ७ लाख २५ हजार मूल्य बराबरको तस्करीको सामान आज बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल विओपी गोलाञ्जबाट खटिएको सशस्त्र प्रहरी निरिक्षक माधवप्रसाद ढुंगेलको नेतृत्वमा खटिएको टोलीले भारतको घोडासाहानबाट अवैध रुपमा राजस्व छली गरेर नेपाल भित्राइरहेको अवस्थामा बाराको श्रीम्रनगढ नगरपालिका वडा नम्बर ७ स्थित कवलपुर नाकाबाट सात लाख २५ हजार मूल्य पर्ने फूल, प्याज र चार थान मोटरसाइकल बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरिक्षक ढुंगेलले तस्करबाट तीन क्विन्टल फूलसहित चार वटा मोटरसाइकल पनि बरामद गरेको बताउनुभयो । ‘‘तस्करहरुबाट एक क्विन्टल प्याज पनि बरामद गरेका छौं,’’ उहाँले भन्नुभयो,‘‘बरामद गरेको सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।’’ प्रहरी निरिक्षक ढुंगेलका अनुसार तस्करहरुले शसस्त्र प्रहरीलाई देखेर तस्करीको सामान छाडेर भागेका थिए । यस अघि पनि बिओपी गोलागंजले चैत १६ गते पनि अवैध रुपमा ल्याएको कपडासहितको मोटरसाइकल पनि बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको थियो । कार्यालयले गत चैत ८ गते पनि भारतबाट अवैध रुपमा ल्याएको एक क्न्विन्टल ८० केजी माछा पनि नियन्त्रण लिएको थियो । नियन्त्रणमा ल्याएको माछा जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल बाराले बताए ।
