मधेशमा नाम फेरिँदा ४ मन्त्री मन्त्रालयविहीन

२ जेठ,  जनकपुरधाम । मधेश सरकारका चार मन्त्री झण्डै दुई महिनादेखि मन्त्रालयविहीन बनेका छन् । मधेश प्रदेश सरकारले भइरहेका मन्त्रालयको नाम र कार्यविभाजन हेरफेर गरेपछि मन्त्रीहरु मन्त्रालयविहीन भएका हुन् ।

९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले ७ वटा मन्त्रालयको नाम र कार्यविभाजन परिमार्जन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार साविकका सामाजिक विकास मन्त्रालय, खानेपानी तथा उर्जा विकास मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय, कानुन न्याय तथा प्रदेश सभा मन्त्रालय, महिला बालबालिक तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालय, गृह तथा संचार मन्त्रालय नाम र कार्यविभाजन हेरफेर गरिएको हो ।

ती मन्त्रालयहरुको नाम र कार्यविभाजन परिमार्जन गरेर अब शिक्षा तथा समाज कल्याण मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कायम गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट श्रम तथा यातायात झिकेर श्रम तथा यातायात मन्त्रालय स्थापना गरिएको छ भने कानुन न्याय तथा प्रदेश सभा मन्त्रालय गृह तथा सञ्चार मन्त्रालयमा पूर्णतः समायोजन गरी गृह, सञ्चार तथा कानुन मन्त्रालय बनाइएको हो । अर्थ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था तथा कृषि मन्त्रालयको नाम भने यथावत छ ।

नाम र कार्यविभाजन हेरफेर गर्दा साविकको सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, उद्योग पर्यटन तथा वन मन्त्रालय मन्त्री सुनिता यादव, शिक्षा विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादव, खानेपानी तथा उर्जा विकास मन्त्री सिंहासन साह कलवार मन्त्रालयविहीन बनेका छन् ।

मन्त्रीहरुले नाम फेरिनुअघिकै मन्त्रालयको जिम्मेवारी हेरिरहेकाले मन्त्रीहरुलाई विनाविभागीय भन्न नमिल्ने प्रमुख सचिव किशोर कुमार चौधरीको तर्क छ ।

‘कार्यविभाजन नियमावली कार्यान्वयनमा छ । बरबुझारथ हुँदै छ । मन्त्रीहरु साविक मन्त्रालयको काम गरिरहनुभएको छ । त्यसैले बिना विभागीय भन्न मिलेन । मुख्यमन्त्रीज्यूले कार्यविभाजन मिलाउनु पर्छ, मैले त्यो सुझाव दिएको छु’, सचिव चौधरीले भने ।

अब मुख्यमन्त्री सरोजकुमार यादवले नयाँ मन्त्रालयमा मन्त्रीहरुको नाम सिफारिस गरेर पत्र पठाउनुपर्नेछ ।

सचिव र निमित्त सचिव तोकिए

नयाँ कायम भएको सातवटै मन्त्रालयमा २८ वैशाखमा सचिव तथा निमित्त सचिव तोकिएका छन् ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिवमा लक्ष्मीप्रसाद भट्टराई र उर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको सचिवमा प्रेमकुमार सिंह तोकिएका छन् । भट्टराई यसअघि समाजिक विकास मन्त्रालयमा र सिंह खानेपानी, ऊर्जा विकास मन्त्रालयका सचिव थिए ।

पाँचवटा मन्त्रालयमा भने उपसचिवलाई निमित सचिवको जिम्मवबारी दिइएको छ । वन तथा वातावरण मन्त्रालयमा जगन्नाथ प्रसाद जयसवाल, गृह संचार तथा कानुन मन्त्रालयमा उत्ताम प्रसाद खरेल, श्रम तथा यातायात मन्त्रालयमा रञ्जित कुमार याद, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयमा जयकुमार राउतर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रालयमा डा. राजिव कुमार झालाई निमित सचिवको जिम्मेवारी तोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?