सरकारकाे नीति तथा कार्यक्रममा वीरगन्ज चिनी कारखानालाई छुटाएकाे प्रति सांसद यादवकाे आपत्ति

वीरगन्ज ,७जेष्ठ:आगामी वर्षकाे नीति तथा कार्यक्रममा वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने विषय छुटाएकोप्रति पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले आपत्ती जनाएका छन् ।

आइतबार प्रतिनीधि सभाको बैठककाे विशेष समयमा बोल्दै सांसद् यादवले सरकारले बन्द रहेका उद्योग सञ्चालन गर्ने विषय समावेश गरेपनि वीरगन्ज चिनी कारखानालाई छुटाएको भन्दै आपत्ती जनाए ।

मधेस प्रदेशका कृषकहरुको आशाको केन्द्र वीरगन्ज चिनी कारखाना सञ्चालनमा आए यहाँका जनताले रोजगारी पाउनुका साथै कृषकको उखुले बजार पाउने उनकाे भनाइ थियाे ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम समग्रमा सन्तोषजक भएपनि त्यसकाे कार्यन्वयनमा यादवले आशंका व्यक्त गरेका छन् ।

पूर्व वनमन्त्रीसमेत रहेका यादले भने, ‘नीति तथा कार्यक्रम समग्रमा राम्रै छ । केही विगतकै कार्यक्रमले पनि निरन्तरता पाएका छन् भने केही थपिएका छन् । तर कार्यन्वयन हुन गाह्रो छ । यसअघिकै कार्यक्रम पनि कार्यन्वयन हुन सकेका छैनन् । यदि नीति तथा कार्यक्रम कार्यन्वयन हुन सक्यो भने देश कायापलट हुन कुनै समय लाग्दैन ।’

देशमा आर्थिक मन्दीले विकराल रुप लिँदै गर्दा अर्थतन्त्र सबल र सुदृढ बन्दै गएको भन्ने मनगढन्ते कुरा सरकारले बोलिरहेको यादवको टिप्पणी छ । अविश्वसनीय नीति तथा कार्यक्रमले सरकारको अर्थतन्त्रलाई सबल बनाउन नसकिने उनको ठहर छ ।

नीति तथा कार्यक्रममा ढुंगा खानीको संरक्षण गर्ने कुरा उल्लेख गर्नुलाई सकारात्मक पक्षका रुपमा लिएपनि ढुंगाको निकासी गर्ने विषयमा भने उनले असन्तुष्टी पोखे । प्राकृतिक सम्पदा निकासी हुँदा भूमण्डलीय स्वरुप खलबलिनुका साथै ढुंगा निकासीले मधेसलाई मरुभूमि बनाउने योजनाको रुपमा ल्याएको यादवको बुझाई छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा जोड दिँदै पूर्वमन्त्री यादवले कनिका छरे जसरी बजेट नराखी निर्माणका लागि लाग्ने बजेटको सुनिश्चितता गर्न आग्रह गरे।

सांसद यादवले संघियता कसैको उपहार र बक्सिसका रुपमा नआएको दावी गर्दै हजारौँ मधेसी, दलित, जनजाती, महिला लगायतको आन्दोलनको देन भएको बताए । संघियतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी जत्तिकै पनि अधिकार नदिएको बताए ।

The post सरकारकाे नीति तथा कार्यक्रममा वीरगन्ज चिनी कारखानालाई छुटाएकाे प्रति सांसद यादवकाे आपत्ति appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?