
वीरगन्ज , ७ जेष्ठ : वीरगन्जका सामुदायिक विधालयमा गरिएको छड्के अनुगमनका क्रममा एकै दिन २४ जना शिक्षक कारबाहीमा परेका छन् ।
वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापिठ माध्यमिक विद्यालयसहितका तीन वटा विधालयमा आइतबार मेयर राजेशमान सिंह आफैले छड्के अनुगमन गर्दा नेपाल राष्ट्रिय विद्यापिठ माध्यमिक विद्यालयमा कार्यरत २४ जना शिक्षक कारबाहीमा परेका हुन् ।
मेयर सिंहले अनुगमन गर्ने क्रममा उक्त विद्यालयका प्रधानाध्यापकसहित २४ जना शिक्षक विधालय समयमा अनुपस्थित देखिएकाले उनिहरुलाई कारबाही स्वरुप महानरपालिकाको शिक्षा महाशाखाले स्पष्टिकरण सोधेको छ ।
मेयर सिंह आफैँ आइतबार बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षकहरु अनुपस्थित भेटिएकाले उनीहरुसँग स्पष्टिकरण माग गरिएको शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए ।विद्यालयमा केहि शिक्षक भौतिक रुपमा भेटिएको भएपनि उनिहरुले हाजिरी गरेको नपाइएकाले उनीहरुसँग स्पष्टिकरण माग गरिएको उनले प्रष्ट पारे ।
आइतबार मेयर सिंहले वीरगन्ज १४ पिपरामा रहेको नृसिंह माध्यमिक विद्यालय र वडा नम्वर ४ मा रहेको त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माद्यमिक विद्यालयमा समेत पुगेर अनुगमन गरेका थिए ।ती दुवै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्ण रुपमा अग्रेजी माद्यममा पठन पाठन सुरु गरिएको छ ।
नुगमनका क्रममा मेयर सिंहले पठन पाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरु लागेको बताए ।यस्तै कक्षाकोठाको अभाव पनि देखिएकाले त्यसको समाधानमा पनि आफूहरु लागि परेको उनले बताए ।
अनुगमन टोलीमा मेयर सिंहसंगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण पनि सहभागी थिए ।
The post सरकारी विद्यालयमा मेयर सिंहको अनुगमन, एकै विद्यालयका २४ शिक्षक कारबाहीमा appeared first on Madhes Khabar.