विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा

काठमाडौं, ८ जेष्ठ : जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टिम घोषणा भएको छ।प्रशिक्षक मोन्टी देसाईले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन्।

प्रारम्भिक टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा।

नेपालको प्रशिक्षक मंगलबार देखि सुरु हुनेछ।

जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको छ।

दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। घरेलु मैदानमा प्रशिक्षण गरेपछि नेपालले विश्वकप छनोटका लागि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्नेछ।

नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्नेछ। नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।

जिम्बावेमा आगामी जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन्। दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलंकासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन्।

नेपालसहित ओमान र स्कटल्यान्डले लिग–२ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए। यस्तै युएई र अमेरिकाले लिग–२ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट जिम्बावेको टिकट काटेका थिए।

छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन्।

सुपर सिक्सको शीर्ष दुईमा परे विश्वकपमा पुग्ने
विश्वकप छनोटमा सहभागी हुने टिमहरू : वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे (आयोजक), आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई।

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्।

सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्। साभार : सेतोपाटी

The post विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?