मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

२७ चैत, जनकपुरधाम । सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् ।

बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै उनीहरुले मिर्चैयामा र्‍याली प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो जनतामाथि शासन गर्न खोजेको उनीहरुको आरोप छ ।

गाउँब्लक र बहाल बिक्टोरीको जग्गा अतिक्रमण गरिएको भन्दै केहि समयअघि उक्त जग्गामा बनेका संरचनाहरु नगरपालिकाले स्थानीयको विरोधका बावजुद भत्काइदिएको थियो ।

तर, नगरपालिकाले आफूहरुको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको यो कदमले बेघर बनेको, व्यापार व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको लगायतका दुखेसो उनीहरुको छ ।

आफूहरुलाई बस्न र व्यापार गर्नका निम्ति तत्काल व्यवस्था गरिनुपर्ने, नगरपालिकाले घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, बस्दै आएको जग्गाको लालपूर्जा दिइनुपर्ने, आफूहरुमाथि ज्यादति भएकाले छानविन गरी न्याय दिइनुपर्ने लगायतका माग उनीहरुले गरेका छन् । आफूहरुको मागको सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?