वीरगन्ज महानगरले अधिनमा ल्यायो अतिक्रमित ५ विघा जग्गा

मधेसखबर
वीरगन्ज ,२९फागुनः वीरगन्ज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी सार्वजनिक जग्गा आफनो अधिनमा ल्याएको छ ।
महानगरको वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको हो ।

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर सार्वजनिक जग्गामा सोमबार देखि तारबार लगाउने काम समेत शुरु गरेको छ । उक्त जग्गामा तारबार पछि वृक्षारोपण गर्ने योजना रहेको महानगरका मेयर राजेशमान सिंहले बताए ।

सार्वजनिक तथा ऐलानी जग्गा केहि व्याक्तिहरुले अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको सुचना पाएपछि महानगरको टोली नक्सा लिएरै कोनियाँ गाँउमा पुगेको थियो ।

अतिक्रमित जग्गा वडा नम्वर १७ का वडासदस्य अमोद यादव सहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए ।

यादव एक्लैले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए ।

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उनले जानकारी दिए ।

मेयर सिंहले महानगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नम्बर १७ को ५ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताए ।

अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक नरहँदा खोजिमा कठिनाई भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उनले जानकारी दिए ।

महानगरमा अतिक्रमण भएको ५ विघा भन्दा बढी जग्गा एकै पटक अधिनमा ल्याएको यो पहिलो घटना हो ।

’हामीले आज ठूलो सफलता प्राप्त गरेका छौँ,’ मेयर सिंहले भने, ’अतिक्रमणमा परेको यति धेरै जग्गा एकै पटक हामिले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याएको पहिलो पटक हो ।’

यो अभियान महानगरका ३२ वटै वडामा संचालन हुने पनि उनले बताए ।हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि मेयर सिंहले बताए ।

अतिक्रमित जग्गा खोजी गर्न सोमबार कोनियाँ गाँउमा मेयर सिंहको सचिवालयका हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नम्बर १९ का वडा अध्यक्ष मुकेस कुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण सहितको टोली पुगेको थियो ।

The post वीरगन्ज महानगरले अधिनमा ल्यायो अतिक्रमित ५ विघा जग्गा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?