आगजनीको आरोपमा पक्राउ परेका ठाकुररामका विद्यार्थी नेता रिहा

२६ माघ, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भएको आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ ।

अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई रिहा गरेको हो ।

क्याम्पस प्रमुख डाक्टर उमेश चौरसिया, निर्वाचन अधिकृत रोशन लामिछाने लगायतको टोली जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर उनीहरुलाई छुटाएर ल्याएका थिए । क्याम्पसको समस्या क्याम्पसमै सल्टाउने भन्दै क्याम्पस प्रमुख नै आएर विद्यार्थी छोडिदिन आग्रह गरेपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत रोशन लामिछानेले विद्यार्थी संघ, संगठन र समूहले राखेको माग अनुसार छानबिन समिति गठन र्भसकेकोले समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

‘मतदाता नामावली छानबिन समितिले भोलिदेखि नै काम सुरु गर्छ, तीन दिन भित्र प्रतिवेदन बुझाउन भनेका छौं’, उनले भने, ‘प्रतिवेदन बुझाएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्छौ ।’

उनले निर्वाचन कार्यतालिकामा केहि संशोधन गर्नुपरे पनि स्ववियु निर्वाचन तोकिएकै मितिमा गर्ने दोहोर्‍याए ।

विद्यार्थीहरुले मतदाता नामावलीमा प्रश्न उठाएपछि फागुन २५ गते नै सार्वजनिक गर्नुपर्ने अन्तिम मतदाता नामावली प्रकाशन हुन सकेको छैन भने शुक्रबार हुने भनिएको मनोनयन दर्ता पनि स्थगित भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि ३५ वटा संघ, संगठन र समूहले नाम दर्ता गराएका छन् ।

को को छन छानबिन समितिमा ?

ठाकुरराम बहुमुखी क्याम्पसले मतदाता नामावली छानबिनका लागि रघुनाथ प्रसाद चौरसिया संयोजकत्वमा समिति गठन गरिएको जनाएको छ ।

क्याम्पस प्रमुख डाक्टर उमेशप्रसाद चौरसियाका अनुसार समितिमा प्राध्यापक तथा कर्मचारीहरुको वैचारिक संगठनका अध्यक्ष/सचिव वा प्रतिनिधि, त्रि.वि. प्राध्यापक संघ र कर्मचारी संघ क्याम्पस एकाई समितिका अध्यक्ष वा प्रतिनीधि, लेखा शाखाका कर्मचारी दुई जना, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि, दर्ता भएका संघ संगठनका अध्यक्ष वा सभापति, दर्ता समूहको संयोजक सदस्य रहनेछन् ।

छानबिन समितिको प्रतिवेदनपछि जानी जानी गल्ती गरेको पाइएमा दोषीलाई कारबाही गर्ने र अन्तिम नामावली प्रकाशित गर्ने क्यापस प्रमुख चौरसियाले जारी गरेको सूचनामा उल्लेख छ । अन्तिम नामावली प्रकाशन पछि निर्वाचनको अन्य कार्यक्रम संशोधित तालिका प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने क्याम्पसले जनाएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?