प्रेम दिवसको अवसरमा वीरगञ्जबाट दुई जना सडक मानवको उद्धार

३ फागुन, वीरगञ्ज । वीरगञ्जमा खुल्ला आकाशमुनि कष्टकर जीवन विताइरहेका दुई जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखाले प्रेम दिवसको अवसर पारेर रात्री गस्ती गरी उनीहरुको उद्धार गरेको हो ।

टोलीले घण्टाघर, पावरहाउस चोक, गण्डक हुँदै पुरानो बाइपास सडकबाट बसपार्क, भन्सार क्षेत्र, शंकराचार्य द्वार, आदर्शनगर क्षेत्रमा गस्ती गरेको गरेको थियो ।

मंगलबारराति वीरगञ्ज भन्सार नजिकै अलपत्र रहेका एकजना वृद्ध र आर्दशनगरस्थित दियालो लड्स प्लाजा होटल नजिकै नाला भएको गल्लीमा रात बिताउँदै गरेका अर्का एक युवकलाई उद्धार गरिएको आश्रम पर्सा जिल्ला संयोजक सानु गुरुङले जानकारी दिइन् ।

खुल्ला आकाशमुनि कसैले पनि रात बिताउन नपरोस भनेर अलपत्र व्यक्तिको खोजीकार्यमा टोली हिँडेको थियो । सामाजिक अभियन्ता एवं आश्रमका अभिभावक प्रकाश थारुले रात्री सडक सेवा नियमित हुने गरे पनि प्रणय दिवसलाई फरक तरिकाले मनाउने उद्देश्यले वीरगञ्जभरी विशेष गस्ती गरेको बताए ।

‘कसैले रुख त कसैले फुल रोपेर, कसैले फुल दिएर, कसैले माया प्रेम साटेर प्रणय दिवस मनाउँछन्’, उनले भने, ‘हामीले प्रत्येक वर्ष रात्री गस्ती गरेर नै दिवस मनाउने गरेका छौं । खुल्ला आकाशमुनी कसैले कष्टकर जीवन बिताउन नपरोस भन्ने उद्देश्य हाम्रो हो । गस्तीका क्रममा अलपत्र अवस्थामा कसैलाई भेटेको खण्डमा उद्धार गरेर आश्रम लैजाने गरेका छौं ।’

राति नै वडा प्रहरी कार्यालय श्रीपुरको गाडीमा राखेर उनीहरुलाई वीरगञ्ज–२५ सिर्सिया छोटी भन्सार स्थित आश्रम शाखा कार्यालयमा लगेर राखिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखामा १ जना बालक, ३ जना बालिका, ६ जना पुरुष सहित ५२ जना आश्रित छन् ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?