एमाले पर्सामा फेरि भाँडभैलो : जिल्ला कमिटी बिघटन , ५ नेता कारबाहीमा

मधेसखबर
वीरगन्ज,६फागुन : मंसिरमा भएको आम निर्वाचन बितेको तीन महिना नबित्दै पर्सामा नेकपा एमाले भित्र फेरि भाँडभैलो मच्चिएको छ ।

गत मंसिरमा निर्वाचन सकिए लगत्तै पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात गरेको भन्दै पर्सामा एमाले नेताहरु बिच आरोप प्रत्यारोपको जुहारी चल्दै आएको थियो । अहिले फेरि चुनावकै विषयलाई लिएर एमाले पर्सामा भाँडभैलो मच्चिएको हो ।
यसैक्रममा जय प्रकाश थारु अध्यक्ष रहेको एमाले पर्सा जिल्ला कमिटी नै विघटन गरिएको छ भने दुइ पालिका प्रमुख सहित जिल्लाका ५ जना नेतालाई पार्टीले कारबाही गरि पार्टीबाटै निलम्बित समेत गरेको छ ।

फागुन ४ गते बसेको एमालेको मधेस प्रदेश कमिटी बैठकले एमाले पर्साको जिल्ला कमिटी विघटन गरि डाक्टर विश्वम्भर शर्माको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक समिति बनाएको छ । आगामी वैशाख १७ र १८ गते जिल्ला अधिवेशन गर्ने गरी शर्मालाई आयोजक समितिको संयोजक तोकिएको हो ।

गत फागुन १९ गतेको सम्पन्न एमालेको आठौं जिल्ला अधिवेशनबाट थारुको अध्यक्षतामा गठन गरिएको जिल्ला कमिटी एक वर्ष नपुग्दै अहिले विघटन गरिएको हो ।

यस्तै गत निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन अन्तरघात गरेको आरोप लगाउदै प्रदेश कमिटीले पर्साका दुइ पालिका प्रमुख सहित पाँच जना नेतालाई पार्टीबाट ३ महिनाका लागि निलम्बित पनि गरेको छ ।एमाले प्रदेश कमिटीले मधेसका आठवटै जिल्ला कमिटीसँग चुनावसम्बन्धी समीक्षा सहितको प्रतिवेदन माग गरेको थियो । चुनावमा पार्टीविरुद्ध घात गर्नेहरूको सूची पठाउन भनिएकोमा पर्सा जिल्लाका पाँच जना नेता कारबाहीमा परेका हुन् ।

पार्टीबाट निलम्बनमा पर्नेहरुमा एमाले पर्सा जिल्ला कमिटीका सचिव एवं छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ता, जिल्ला कमिटी सदस्य एवं सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, जीराभवानी गाँउपालिकाका पूर्वअध्यक्ष रामप्रीत महतो थारू, सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर –१ का वडाअध्यक्ष वासुदेव महतो थारू र प्रदेश कमिटी सदस्य बसरुद्दीन अन्सारी रहेका छन् ।

 

The post एमाले पर्सामा फेरि भाँडभैलो : जिल्ला कमिटी बिघटन , ५ नेता कारबाहीमा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?