सहकारीबाट लिएकाे ऋणकाे किस्ता तिर्न नसक्दा आत्महत्या

वीरगन्ज ,११ माघ : सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा रामदेवले आत्महत्या गरेकाे परिवारको दाबी छ।

सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट गरी एक लाख रुपैयाँ ऋण लिएका उनी किस्ता तिर्न नसक्दा तनावमा थिए।

‘छोराको विवाह गर्दाको वेला गत वैशाख १ गते दुईवटा सहकारी संस्थाबाट ऋण लिएका थियौँ,’ मृतक रामदेवकी श्रीमती उर्मिलादेवीले भनिन्, ‘हरेक महिनाको ९ गते किस्ता तिर्दै आइरहेका थियौँ।’

उनका अनुसार पछिल्लोपटक गत ९ गते किस्ता तिर्ने वेला भइसक्दासमेत पैसाको जोहो हुन सकेको थिएन। ‘मैरै नाममा ०७८ मंसिर १३ मा ग्लोबल आइएमई लघुवित्त सहकारीबाट ९० हजार ऋण लिएका थियौँ। किस्ता पनि चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ सावाँ र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ,’ उनले भनिन्, ‘महुली लघुवित्त सहकारीबाट पनि १५ हजार रुपैयाँ ऋण लिएकामा अब ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी छ। तर, त्यस्तो किस्ता चुक्ता गर्न त्यो दिन पैसाको जोहो हुन सकेको थिएन।’

गत सोमबार समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएका थिए। ‘सबैतिर हारगुहार गर्दा पनि पैसाको जोहो नभएपछि कर्मचारीहरू घरमा आउँदा उहाँले घरमा छैन भनिदिनु भन्नुभएको थियो,’ उनले भनिन्, ‘मंगलबार जसरी पनि ऋण बुझाऊ भनेर कर्मचारीले हप्काएर गएपछि उहाँ धेरै नै तनावमा हुनुहुन्थ्यो।’

सोही तनावले नै रामदेवले आत्महत्याको बाटो रोजेको उर्मिलादेवीको दाबी छ। मृतक रामदेवका श्रीमती र दुई छोरा छन्।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताए। ‘ऋणको कुरा पनि आइरहेको छ। तर, अहिले स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘के कारण उनले आत्महत्या गरेको हो हामी अनुसन्धान गरिरहेका छौँ।’साभार: नयाँपत्रिका

The post सहकारीबाट लिएकाे ऋणकाे किस्ता तिर्न नसक्दा आत्महत्या appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?