१४ वर्षीय निरज पासवानको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ

१३ पुस, वीरगञ्ज । प्रहरीले वीरगञ्ज-२५ सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज-१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका-१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर प्रहरीले घटनामा उनीहरुको संलग्नता रहेको दाबी गरेको छ ।

घटनामा थप एक जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

अपहरणपछि हातखुट्टा तथा मुखमा कपडाको पट्टीले बाँधेर राखेकोमा निरजले डोरी फुकाएर भाग्न खोजेपछि उनको हत्या भएको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । हत्याको उद्देश्य भनेको फिरौती माग्ने रहेको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मंसिर ५ गतेदेखि हराएका निरजको शव ३४ दिनपछि गाउँकै गुरूकुल पन्ना मेमोरियल इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा पुस १० गते आइतबार साँझ भेटिएको थियो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?