देउवाकाे मनाेमानी विरुद्ध शेखर समुहद्वारा आन्दोलनको घाेषणा

मधेसखबर

वीरगन्ज ,१० असाेज: नेपाली कांग्रेस संस्थापन पक्षले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वेवास्ता गरेको भन्दै शेखर कोइराला समूहले आन्दोलन घोषणा गरेको छ ।

नेतृत्वले हरेक गतिविधिमा मनोमानी गरेको भन्दै समान अवसर र न्यायका लागि आन्दोलनको घोषणा गरिएको हो।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले एकलौटी गरेको उनीहरुको आरोप छ ।

आगामी असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको पार्टीका नेता जगदिश्वर नरसिंह केसीले जानकारी दिए। उनले भने,’ हामीले ४० प्रतिशत टिकट नपाए शेरबहादुर देउवा पक्ष एक्लै चुनाव लडोस्। गठबन्धनका पाँच दल मिलाउन १८ घन्टा समय दिने निरन्तर छलफल ६० दिनसम्म गर्न सक्ने सभापतिज्यूले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेट पनि समय नदिने।यस्तो पनि हुन्छ ? यसरी एकलौटी तरिकाले अघि बढे गठबन्धनलाई असहयोग गर्छौं।’

सोमबार बिहान बसेको असन्तुष्ट समूहको बैठकले असोज १३ गते खबरदारी सभा गर्ने पनि निर्णय गरेको छ। सो क्रममा शेखर समूहका शीर्ष नेताहरु सहभागी हुनेछन्।

माग सम्बोधन नभए अनसन, धर्ना र निर्वाचन बहिष्कारसम्मको योजनामा शेखर समूह छ।

संस्थापन इतर समूहका दोस्रो तहका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।

The post देउवाकाे मनाेमानी विरुद्ध शेखर समुहद्वारा आन्दोलनको घाेषणा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?