वीरगन्ज ,२५चैत: भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा लखनउ सुपर जायनट्सले दाेश्राे जित हात पारेकाे छ। शुक्रबार राति भएकाे खेलमा लखनउले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको हाे ।
आईपीएको १६औं संस्करणमा लखनउको यो तीन खेलमा दोस्रो जित हो । तीन खेलबाट ४ अंक जोडेको लखनउ समान अंक भए पनि गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि हैदरवाद भने अंकविहीन हुँदै पुछारमा छ ।
लखनउ स्थित अटल बिहारी बाजपायी एकना क्रिकेट मैदानमा भएकाे खेलमा लखनउले हैदरवादले दिएको १२२ रनको लक्ष्य १६ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।
लखनउका लागि कप्तान केएल राहुलले ३१ बलमा ४ चौका मदतमा ३५ रन बनाए । यस्तै क्रुनल पाण्ड्याले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । छक्का प्रहार गर्दै जित पक्का गरेका निकोलस पुरनले ६ बलमा अविजित १० रन बनाए । मराकुस स्टोइनिसले पनि अविजित १० रन बनाए ।
हैदरवादका आदि रशिदले दुई तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो ।
हैदरवादका लागि राहुल त्रिपाटीले सर्वाधिक ३४ रन बनाउँदा अनमोलप्रित सिंहले ३१ रन बनाए । अब्दुल सामदले १० बलमा अविजित २१ रन बनाए । साविङ्गटन सुन्दरले १६ रन जोडे ।
The post आईपिएल : लखनउकाे दाेश्राे जित appeared first on Madhes Khabar.