भोला यादव रौतहट
रौतहट २३ माघ
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ । किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरुले आन्दोलन गरेका थिए । किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मेल सञ्चालकले निर्घात कुटपिट गरेका हुन् । कटहरियाका मेयर समेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन् । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। पत्रकार तिवारीको मोबाइल र क्यामरा समेत मिल सञ्चालकले लुटपाट गरेको बताइएको छ। घाइते पत्रकार तिवारीको अहिले गरुडा स्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। तिवारी संगै रहेका अर्का पत्रकार धिरज यादवको समेत मोबाइल र क्यामेरा लुटपाट भएको छ ।
