सिमरामा २१ करोड लागतमा १५ शय्याको अस्पताल निर्माण हुँदै 

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा करिब २१ करोडको लागतमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । हालमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गर्दै ११ कठ्ठा जग्गामा १५ शय्याको अस्पताल बन्न लागेको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । 

उपमहानगरपालिको नगर प्रमुख राजन पौडेलले आफूले गर्नुपर्ने कार्यको पहिलो सूचीमा नै मानिसको जीवन मरणसँग प्रत्यक्ष रुपमा सम्बन्धित अति आवश्यक  अस्पताललाई दिएको बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको टिम अस्पताल निर्माण कार्यलाई गम्भीरतापूर्वक लिएर लागिपरेका कारण निर्धारित समय भन्दा अगाडि नै अस्पताल निर्माण कार्यलाई पूर्णता दिने नगर प्रमुख पौडेलले जानकारी दिनुभयो । 

अस्पताल निर्माणको लागि उपमहानगरपालिकाले आवश्यक डि.पि.आर समेत तयार पारिसकेको छ । अस्पताल निर्माण गर्न एच.टि. सि. कन्स्ट्रक्ट बुधनगर काठमाडौँलाई २० करोड ५५ लाख ३७ हजार ३ सय २८ रुपैयाँमा ठेक्का दिएको छ । दुई बर्ष भित्र निर्माण गरिसक्नु पर्ने लक्ष्य राखिएको  १५ शय्याको अस्पतालको निर्माण गर्न ४ तल्लाको भवन निर्माण हुने सिभिल इन्जिनियर अभय झाले जानकारी दिनुभयो । 

पहिलो तल्लामा  ओ.पि.डि., इमरजेन्सी, प्याथोलोजी सेवा  प्रदान गरिन्छ भने पहिलो तल्लामा प्रसूति गृह, दोस्रो तल्लामा बिरामी  भर्ना  र अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक र बैठक कक्ष सञ्चालन हुने इन्जिनियर झाले बताउनुभयो । 

अस्पतालमा क्यान्टिन, गाडी पार्किङ, पार्क, फोहर व्यवस्थापन र शव दहन गृह  निर्माण गर्ने अस्पतालको डि.पि.आरमा रहेको छ । अस्पतालका लागि आवश्यक विशेषज्ञ सहितको जनशक्ति करारमा परिपूर्तिको लागि उपमहानगरपालिकाले सूचना आव्हान गर्ने गृहकार्यमा लागेको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख रबी भाष्करले जानकारी दिनुभयो । 

जीतपुरसिमरा उपमहानगरपालिकामा सरकारी तवरबाट सञ्चालित एउटा पनि अस्पताल नहुँदा नगरवासी उपचार गराउन वीरगंज, हेटौडा, चितवन, काठमाडौँ लगायतको ठाउँमा जानुपर्ने बाध्यता छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?