घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्वित

१० चैत, जनकपुरधाम । घुस लिएको भिडियो फेला परेपछि डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन गरी अनुसन्धान थालेको हो ।

वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेको वन मन्त्रालयका एक अधिकृतले बताए । उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफूविरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए ।

यही चैत ६ गते साह पक्राउ परेपछि मुद्दा मिलाइदिने अन्यथा जेल पठाइदिने धम्की दिँदै झण्डै ४ लाख रुपैयाँ लिइसकेको यादवमाथि आरोप छ । यादवले थप ४० हजार रुपैयाँका लागि बार्गेनिङ गरेपछि प्रतिवादीले भिडियो बनाएर मन्त्रालयलाई उपलब्ध गराएका थिए । त्यस सम्बन्धी विभिन्न अडियो प्रमाण समेत भेटिएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

अडियो/भिडियो फेला परेपछि यादवलाई निलम्बन गरी अनुसन्धान थालिएको राज्यमन्त्री रहबर अन्सारीले बताए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?