नगर अधिवेशन स्थगन गरी स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीतका काम गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

आयोगले नगरपालिकाले तय गरेको विशेष अधिवेशन स्थगन गरी निर्वाचन आचारसंहिता विपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

आयोगले नगरसभा सदस्य र केही पार्टीका तर्फबाट परेको उजुरीका आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमतिबेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण गराएको हो ।

उक्त नगरपालिकाले असोज १२ गतेका लागि विशेष अधिवेशन आह्वान गरेर गणपूरक सङ्ख्या नपुगेको कारण उक्त मितिमा सञ्चालन हुन नसकी कात्तिक २ गतेका लागि बोलाइएको अधिवेशन हाललाई स्थगन गर्न निर्देशन दिएको हो ।

“नेपालको संविधानबमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार नगर कार्यपालिकाले र व्यवस्थापकीय अधिकार नगरसभाले गर्ने विषयमा कुनै दुई मत छैन । यद्यपि निर्वाचनको सम्मुखमा विशेष अधिवेशन बोलाइ नयाँ नीतिगत निर्णय गर्नु निर्वाचन आचारसंहिताको अनुकूल हुँदैन”, सो स्पष्टीकरण पत्रमा भनिएको छ ।

निर्वाचन आचारसंहिताको दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्डमामा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको छ । दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत “वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने, तर, सरुवा रोगको महामारी वा कुनै प्राकृतिक विपद् वा काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन”, भन्ने व्यवस्था रहेको पत्रमा उल्लेख गरिएको छ । रासस


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?