काँग्रेसले एक सय सिटभन्दा कममा गठबन्धन गरे पार्टीभित्र विद्रोह हुन्छ : नेता कोइराला

जनकपुरधाम  । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काँग्रेसले पाँच दलको बीचमा गठबन्धन गर्दा एक सय सिटभन्दा कममा गठबन्धन गर्न नहुने बताउनुभएको छ । 

काँग्रेसका नेता कोइरालाले आज जनकपुर विमान स्थलमा पत्रकारहरूसँग कुरा गर्दै काँग्रेसमा वडा तहदेखि निर्वाचित भएका नेताहरूको सङ्ख्या ठूलो भएकाले पार्टीको नेता व्यवस्थापनका लागि प्रतिनिधिसभामा एक सय सिटभन्दा कममा पाँच दलका बीचमा गठबन्धन गरेको खण्डमा पार्टीभित्र विद्रोह हुने अवस्था भएको बताउनुभयो । 

उहाँले नेपाली काँग्रेसको केन्द्रीय समितिले पाँच दलको बीचमा गठबन्धन गर्ने  निर्णय गरिसकेकाले गठबन्धन हुनेमा आशङ्का नभए पनि काँग्रेस देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएकाले दलका नेताहरूले कम सिटमा सहमति गर्न नहुने बताउनुभयो । 

नेता कोइरालाले जीतको सुनिश्चितता भएको ठाउँमा मात्र गठबन्धन दलका बीचमा सहमति हुनु पर्ने धारणा राख्दै गठबन्धन दलका बीचमा भएको सहमति अनुसार अगामी सरकार नेपाली काँग्रेसको नेतृत्वमा बन्ने बताउनुभयो ।

एक प्रश्नको जवाफमा नेता कोइरालाले कुनै दललाई काँग्रेसले ठूलो पार्टीलाई बनाई दिनुपर्ने बाध्यता नभएको बताउँदै पार्टीले गठबन्धन गर्दा पार्टी हितलाई सर्वोपरि राख्नु पर्ने बताउनुभयो । 

उहाँले जिल्ला जिल्लाको भ्रमण गर्दा गठबन्धन काँग्रेसले गर्न नहुने आवाज पनि उठेको बताउनुभयो । 

जनकपुर विमानस्थलमा नेता कोइरालालाई स्वागत गर्नका लागि नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, नेता रामकृष्ण यादव र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितका नेताहरू उपस्थित रहनुभएको थियो ।

नेपाल प्रेस युनियनको भोलिदेखि जनकपुरधाममा हुन लागेको केन्द्रीय समितिको बैठकको उद्घाटन गर्नका लिनका लागि नेता कोइराला आज जनकपुरधाम आउनुभएको हो । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?