बारा । बाराको जीतपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जीतपुरस्थित रातोपुल नजिक सिमराबाट जाँदै गरेको बा७१प २९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको अर्को मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक वृद्ध मानिसको मृत्यु भएको छ । उनको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा परि गम्भीर घाइते उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव वीरगन्ज पठाइएको छ ।
दुर्घटना लगत्तै वृद्ध सवार मोटरसाईकलका चालक मोटरसाइकल लिएर फरार भएका छन् ।
दुर्घटनास्थलबाट जीतपुरस्थित सशस्त्र प्रहरीको टोलीले तीन जना घाइतेलाई उद्धार गरी अस्पताल ल्याएको थियो ।
दुर्घटनामा पर्सा जिराभवानीपुर वडा नं. १ का २० बर्षीय मनिषलाल महतो थारु र पर्सागढी नगरपालिका वडा नं. ८ का १५ वर्षीय सञ्जीव राउत घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।