पर्सामा मिटर ब्याजी विरुद्ध ८६ उजुरी दर्ता, ४ लाख दिएर ५० लाखको कागज बनाएको खुलासा

वीरगंज । पर्सामा मिटरब्याजी विरुद्ध ८६ ओटा उजुरी परेका छन् । 

गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनका लागि जारी गरेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, पर्सामा हालसम्म ८६ ओटा उजुरी परेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो । 

मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणले सयौँ परिवार  बिचल्लीमा पारेकाले गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सर्वसाधारणका लागि सूचना जारी गरेको थियो ।

प्रशासनमा परेका उजुरी निवेदनका आधारमा सरोकारवाला दुवै पक्षलाई बोलाएर छलफल गरिने र  छलफलमा सहमति नभए कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भयो । 

कारबाहीका लागि प्रहरीकोमा पठाउँदा गृह मन्त्रालयमा समेत सिफारिस गरिने बताउँदै प्रवक्ता पौडेलले दोषी पाइएका मिटरब्याजी विरुद्ध बैङ्किङ कसुर र मुलुकी अपराध संहिताअनुसार मुद्दा चलाइने जानकारी दिनुभयो । 

पछिल्लो समय बैङ्कमा तरलता अभाव भएसँगै मिटरब्याजी धन्दाले प्रश्रय पाएको छ । यसले पीडितहरू प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि जाने क्रम समेत बढ्दै गएको छ । 

विशेष गरी पर्साको ग्रामीण क्षेत्रमा मिटर व्याजीहरुको चलखेल बढी रहेको र गाउँका सर्वसाधारण जनतालाई ४ लाख दिएर ५० लाखको कागज बनाउने, पैसा दिएको मिति भन्दा ५/६ बर्ष पुरानो कागज बनाएर पैसा दिएको देखाउने जस्ता उजुरी पर्सामा परेको पौडेलले बताउनुभयो । 

आज मात्रै जिल्ला प्रशासन कार्यालय पर्सामा ३ वटा मिटर व्याजी विरुद्धको उजुरी परेको पौडेलले जानकारी दिनुभयो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?