सुर्खेतमा प्रचण्ड माथि जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो

वीरगन्ज,२२ कार्तिक : सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ ।

पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो ।

मंगलबार सुर्खेत विमानस्थलमा अवतरण गरी नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्कालाई लिएर जुम्ला जाने कार्यतालिका रहे पनि प्रतिकुल मौसमका कारण प्रचण्ड सवार हेलिकप्टर सल्यान पुगेको थियो ।

चुनावी सम्बोधनपछि उपसभापति खड्कालाई छोड्न चिङ्गाड पुगेका अध्यक्ष प्रचण्ड माथि पूर्वमाओवादी लडाकु समेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको सुर्खेत प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । ‘चिङ्गाडको ठाँटी बजारस्थित मटेलामा अध्यक्ष प्रचण्ड पुग्नु भएको थियो, निज कमलले जुत्ताको माला झोलामा बोकेर ल्याएका रहेछन्, उनले झोलाबाट जुत्ताको माला निकाल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।’ एक प्रहरी अधिकारीले भने ।

 

मटेला प्रहरीले नियन्त्रणमा लिएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा राखिएको प्रहरीको उच्च स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । ति प्रहरी अधिकारीका अनुसार प्रचण्डलाई जुत्ता प्रहार गर्न नपाउँदै प्रहरीले जोगाएको हो । घटनामा संलग्न युवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार ः नेपाल प्रेस

 

The post सुर्खेतमा प्रचण्ड माथि जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?