शिक्षा क्षेत्रको विकास बिना मुलुक समृद्ध बन्दैन : अध्यक्ष दाहाल

बर्दिबास । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने बताउनु भएको छ । 

महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा निर्माण हुन लागेको शैक्षिक भवनको सोमबार शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले मुलुकको समग्र विकासमा शिक्षाको महत्त्वमा जोड दिनु भएको छ । 

निर्मल लामा बहुप्राविधिक शिक्षालय देशकै नमुना विद्यालयको रूपमा विकास हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले दक्ष जनशक्ति उत्पादनको लागि बजेटको २० प्रतिशत रकम  शिक्षामा छुट्याउनु पर्नेमा जोड दिनु हुँदै उहाँले शिक्षालाई उत्पादनमुखी र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा क्षेत्रमा सुधार नगरी समाजलाई अनुशासित, समृद्ध र सुसंस्कृत बनाउन नसकिने भन्दै उहाँले उत्पादन प्रक्रियालाई समाजवादउन्मुख बनाउन शिक्षालाई उत्पादनमुखी बनाउनेतर्फ ध्यान जानुपर्ने बताउनुभयो । उहाँले समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले अब उत्पादन वृद्धिको अभियान, श्रम प्रयोगको अभियान र सांस्कृतिक रूपान्तरण आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका विद्यार्थी पढ्न आउने ठाउँको रूपमा शिक्षालयलाई विकास गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले देशभरका सबै विद्यालयमा तीन वर्षभित्रमा भौतिक पूर्वाधार विकासको काम सक्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा महोत्तरी क्षेत्र नं. १ का सङ्घीय सांसद तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बर्दिबासलाई शैक्षिक हबको रूपमा विकास गर्न प्राविधिक शिक्षालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

२०७५ मा स्थापना भएको शिक्षालयमा हाल २८ जिल्लाका ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका शिक्षालयका प्रमुख रमण मेहताले बताउनुभयो । विद्यालयमा हाल सञ्चालनमा रहेका सातवटा शैक्षिक कार्यक्रमलाई विकास गरेका १२ वटा पुर्‍याउने तयारी गरेको शिक्षालय प्रमुख मेहताले बताउनुभयो ।

कोरियन सरकार (कोइका) को एक अर्ब पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा मधेश प्रदेशस्तरीय शिक्षालयको ४ वटा अत्याधुनिक भवनको बन्न लागेको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शिक्षा राज्यमन्त्री बोधमाया यादव, मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, कोइकाका कन्ट्री डाइरेक्टर सुन हु को, बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, मधेश प्रदेश सांसद शारदादेवी थापा, सीटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?